भारत–चीनबीच सीमामा जारी तनाव तत्काल नहट्ने

भारत र चीनको बीचमा सैन्य द्वन्द्वको सम्भावना नरहे पनि तीन सातायता चीन–भुटान–भारतको त्रिदेशीय सीमानामा बढेको तनाव तत्काल हट्ने छाँट छैन । दुई दिनअघि जर्मनीको ह्यामबर्गमा सम्पन्न जी–२० सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच अनौपचारिक कुराकानी भए पनि तनाव कम गर्ने विषयमा खासै प्रगति भएन ।

भारतीय सञ्चार माध्यमले सरकारी अधिकारीलाई उद्धृत गर्दै भुटानले दाबी गरिरहेको भू–भागमा चीनले सडक बनाउन लागेपछि त्यस क्षेत्रमा परिचालन भएका सैनिक तत्काल पछाडि नर्फकने बताएको छ । प्रेस ट्रस्ट अफ इन्डियाको समाचारअनुसार भारतीय सैनिक तत्काल त्यस क्षेत्रबाट पछाडि हट्ने छैनन् र उनीहरु टेन्ट नै गाडेर बसेका छन् भने त्यस क्षेत्रमा आवश्यक दैनिक उपभोग्य सामग्रीको सप्लाईसमेत गरिएको छ ।

भारतीय अधिकारीले चिनियाँ सैनिकसँग आफ्ना सैनिक नझुक्ने तर समस्याको ‘विन–विन’ समाधान कुटनीतिक माध्यम मार्फत नै खोज्नुपर्ने बताउँदै आएका छन् । आफूहरुले एकतर्फी रुपमा सेना पछाडि हटाउँदैमा समस्या समाधान नहुने र सन् २०१२ मा भएको सहमतिअनुसार वार्ता र परामर्शका माध्यमले समाधान गर्नुपर्ने उनीहरु बताइरहेका छन् ।

चीनले दुई देशबीच अर्थपूर्ण संवादका लागि भारतीय सैनिक पछि हट्नुपर्ने पूर्वसर्त रहेको बताइरहेको छ । उता, चीनले पनि सीमा क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाउँदै लगेको खबर सार्वजनिक भइरहेका छन् । सीमा क्षेत्रमा साना झडप भएका खबर सार्वजनिक भए पनि त्यसको पुष्टि भने भएको छैन ।

चीनले उक्त विवादास्पद भूमिमा सडक निर्माण गर्ने कार्य नरोकेसम्म भारतीय सैनिक पछाडि नहट्ने देखिन्छ । यद्यपि, भारतको सैनिक नेतृत्वले विवाद समाधान गर्न कुटनितिक तहमा समाधान हुनुपर्ने राय सरकारलाई दिएको बताइएको छ । उता चीनले भने निरन्तर रुपमा सो भुभागबाट भारतिय सैनिक नहटे गम्भीर परिस्थिति उत्पन्न हुने र त्यसले गम्भीर परिणाम ल्याउने बताइरहेको छ ।

कतिपय भारतीय विश्लेषकले भने सो विवादका माध्यमले चीनले भुटानमा आगामी वर्ष हुने निर्वाचनका अगाडि राजनीतिक अन्यौल सिर्जना गर्न लागेको बताएका छन् । चीनले दबाबमार्फत भुटानसँग कुटनीतिक सम्बन्ध कायम गर्न चाहेको उनीहरुको बुझाइ छ ।

‘चीनका लागि भुटानको विषय प्रेस्टिजको विषय हो । किनभने छिमेकी मुलुकमध्ये भुटानसँग मात्र चीनको कुटनीतिक सम्बन्ध छैन,’ जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक तथा भुटानविज्ञ राजेश खरातले टाइम्स अफ इन्डियासँग भनेका छन् । ‘भुटानसँग पूर्ण कुटनीतिक सम्बन्ध विस्तार नगरेसम्म भारतलाई घेरा गर्ने चीनको नीति हुन सक्छ तर सफल हुँदैन,’ उनले भनेका छन् ।

यही समस्या चलिरहँदा बेइजिङमा एक चिनियाँ भाषाको अनलाइनले भिडन्त नै भएको समाचार दिएपछि नागरिकहरु अन्योलमा परेका थिए । तर, अवस्था त्यस्तो भएको भन्ने अझै पुष्टि हुन सकेको छैन । चिनियाँ सेनाले भारतीय सेनालाई त्यहाँबाट हट्न भनेको तर भारतीयले यो क्षेत्रबाट आफू नहट्ने जनाइसकेको छ ।

डोङलाङको विषयले दुईपक्षीय सम्बन्धमा भने चिसोपना बढाएको बताइएको छ । तीन सातादेखिको यो तनाव झन् बिग्रदै गएको छ । दुवै पक्ष आ–आफ्नो अडानमा छन् ।

Comments

comments

Load More Related Articles
Load More In BREAKING NEWS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

भेडाको ब्यापार र नेपाल

दक्षिण एसियाको बिचौ भाग ,प्राय पहाडी भुभाग धेरै रहेको देस को नाम हो नेपाल । जहाँ प्रसस्त भ…