नशा च्यापिएको थाहा पाउने ६ लक्षण, यस्तो छ उपचारको बहुचिकित्सा पद्दति

मेरुदण्डका नशामा कुनै कारण गडबडी हुनु वा दवाव पर्नुलाई नै नशा च्यापिनु भनिन्छ। पछिल्लो समय नशाको उपचारका लागि अस्पताल आउनेमध्ये अधिकांशको मेरुदण्डमा कम्मरको भागको चौथो र पाँचौँ अनि पाँचौ र छैटौँ हड्डीबीचमा तथा गर्धनका पाँचौँ, छैटौं र सातौँ हड्डीबीचमा नशा च्यापिएर समस्या उत्पन्न भएको पाइन्छ।

वयस्क र वृद्धवृद्धालाई नशा च्यापिने समस्या बढी देखिने भए पनि यसले जुनसुकै उमेर समूहकालाई सताउँछ। पछिल्लो समय यो समस्या स्कुले केटाकेटीमा पनि देखिन थालेको छ। ढाड दुख्नु तथा नशा च्यापिनुका विभिन्न कारणह छन्। उमेर अनुसार कारण पनि फरक–फरक हुने गर्छ।

बालबालिकालाई हुने समस्या
बालबालिकामा प्रायः धेरैलाई नशा च्यापिने समस्या चोटपटकका कारण हुने गर्छ। बालबालिकाले खेल्दा, उफ्रिँदा कहिलेकाँही ढाड दुखेको हुन सक्छ। केही बालबालिकामा भने जन्मजात मेरुदण्डको समस्या हुन सक्छ। बालबालिकामा जन्मजात समस्या हो वा कुनै चोटपटक वा रोगका कारण मेरुदण्ड दुख्ने गरेको हो भन्ने थाह पाउन विभिन्न जाँच गर्नुपर्ने हुन्छ। चोटपटकका कारण मेरुदण्डको लिगामेन्ट च्यातिएको हो वा हड्डी भाँच्चिएको हो भने त्यसको विशेष हेरचाह तथा उपचार गर्नु पर्छ। त्यस्तै मेरुदण्डको क्यान्सर, ट्युमर, क्षयरोग आदिका कारण पनि मेरुदण्ड दुख्न सक्छ।

स्कुले केटाकेटी तथा वयस्कले मोबाइल, ल्यापटप आदि निहुरिएर धेरैबेर चलाउने, निहुरिएर लेख्ने वा पढ्ने गर्नाले पनि गर्धन, ढाड वा कम्मरको दुखाइ हुने गर्छ। यस्ता सामाग्री चलाउँदा बसाइको ‘पोजिसन’ र ‘पोस्चर’मा ख्याल राख्नुपर्छ। यस्तै बालबालिकालाई उनीहरुले सक्ने प्रकारको व्यापाम गराउन प्रेरणा दिनुपर्छ।

वयस्कमा हुने समस्या
विभिन्न कारणले वयस्क अवस्थामा मेरुदण्ड दुख्ने गर्छ। वयस्कहरुमा ढाड दुख्नुको मुख्य कारण दुई प्रकारका छन्।

१. मेरुदण्डमा बढी भार पर्नु

बसेर काम गर्ने मान्छे बसेको बस्यै हुन्छ। उठेर काम गर्ने मान्छे निरन्तर उठेरै काम गरिरहेको हुन्छ। अनि, निहुरिएर काम गर्ने मान्छे सधैँ निहुरिरहेकै हुन्छ। यी विभिन्न पोजिसनमा काम गर्दा हामी शारीरिक अवस्थितिलाई खासै ख्याल गर्दैनौँ। वर्षौंसम्म लगातार गलत पोजिसनमा काम गर्नु भनेको शरीर तथा मेरुदण्डलाई खप्नेभन्दा बढी भार दिनु हो। जसले मेरुदण्ड र गर्धनको मांसपेशी बाउँडिँदै र खुम्चँदै जान्छ। बढी दबाब पर्ने स्थानको ‘डिस्क’मा अत्यधिक चाप बढ्न गई डिस्क फुटेर नशा च्यापिन सक्छ। साथै, उमेरमा गह्रौँ वजन उठाउने, शरीरलाई धेरै भार पर्ने काम गर्नेहरुको पनि डिस्क फुटेर नशा च्यापिन सक्छ।

२. व्यायाममा ध्यान नदिनु

बसिरहने, व्यायाम वा शारीरिक श्रम नगर्ने व्यक्तिहरुको मेरुदण्डको मांसपेशी कमजोर हुँदै जान्छ। यस्ता व्यक्तिले साधारण काम गर्दा समेत ढाडमा झस्का पस्ने वा नशा च्यापिने समस्या आउन सक्छ।

वयस्क मानिसको ढाडको नशा च्यापिने अर्को कारण मोटोपना पनि हो। खानपानमा ध्यान नदिने र मोटोपना बढ्दै जाँदा मेरुदण्डको डिस्कमा असर पर्छ र नशा बिस्तारै दब्दै जान्छ। साथै, चोटपटक र मेरुदण्डको क्यान्सर, ट्युमर, क्षयरोगजस्ता रोगका कारण पनि नशा च्यापिने सम्भावना रहन्छ।

वृद्ध अवस्थामा हुने समस्या

वृद्ध अवस्थामा गर्धन, ढाड दुख्नु वा नशा च्यापिनुको मुख्य कारण हड्डी खिइनु हो। हड्डी खिइँदा डिस्क पनि कमजोर हुँदै जान्छ र नशालाई असर पु¥याउँछ। केही वृृद्ध व्यक्तिमा हड्डी कमजोर भई भाँचिएर पनि नशा च्यापिन सक्छ। यसरी सजिलै हड्डी भाँचिने अवस्थालाई ‘अस्टियोपोरोसिस’ भनिन्छ। यो समस्या महिनावारी रोकिएका महिलालाई बढी हुने सम्भावना रहन्छ।

मेरुदण्डको नशा च्यापिँदाका लक्षण

१. हात–खुट्टा दुख्ने, झमझमाउने र पोल्ने,

२. गर्धन र ढाडमा अत्यधिक पीडा हुने,

३. विस्तारै मांशपेशी कमजोर हुँदै जाने,

४. छाला बाक्लो भएको जस्तो महसुस हुने,

५. हिँडडुल गर्न गाह्रो हुने, शरीर बाङ्गिने,

६. समयमै उपचार हुन सकेन भने हात वा खुट्टा नचल्ने, आदि।

उपचार विधि

आधुनिक चिकित्सा पद्दतिको विकास हुनुअघि पनि मेरुदण्डको नशा च्यापिँदा विभिन्न घरेलु विधिबाट उपचार गरिन्थ्यो। त्यस्ता घरेलु वा प्राकृतिक चिकित्सा विधिलाई नियमसंगत ढंगले प्रयोगमा ल्याउँदा नशा च्यापिने समस्या समाधान हुने गर्छ। त्यसैले ढाड दुख्ने वा नशा च्यापिने समस्याको समाधान गर्न चिकित्सा विधिसँगै घरेलु विधि पनि प्रयोग गर्न सकिन्छ।

घरेलु उपचार विधि
– सुरुमा विशेषज्ञलाई जँचाएर आफूले अपनाउनुपर्ने सावधानी तथा व्यायाम राम्ररी सिक्नुपर्छ। उमेर, रोगको प्रकृति, कारण अनुसार के–के कुरामा ध्यान दिने भन्ने फरक–फरक प्रक्रिया हुन सक्छ।

– चोटपटक लागेमा वा झस्का पसेमा आराम गर्ने र पातलो कपडा बरफ राखेर सेकेमा आराम मिल्छ। दुखाइ सुरु भएको २४ घन्टासम्मको अवस्थालाई ‘क्रिटिकल’ अवस्था भनेर लिने गरिन्छ। यस्तो अवस्थामा दिनको तीन पटक कम्तिमा १५ मिनेटसम्म दुखेको ठाउँमा बरफले सेकेर आराम गर्नुपर्छ। चोटपटक लागेको ठाउँमा मालिस वा तातो वस्तुले सेक्ने गर्नु हुँदैन।

– पुरानो दुखाइ, हड्डी खिइएको वा नशा च्यापिएको अवस्थामा तातोले सेक्ने, घाममा बसेर मालिस लिने गर्दा आराम मिल्छ।

– आराम गर्दा पोजिसनको ख्याल राख्नुपर्छ। विशेषज्ञले सिकाए अनुसारको पोजिसनमा आराम या व्यायाम गर्नुपर्छ। बसिरहनुलाई आराम गर्नु वा विश्राम लिनु भनेर बुझ्नु हुँदैन।

बहुचिकित्सा पद्दति

ढाड वा नशासम्बन्धी विशेषज्ञलाई देखाउने बित्तिकै घरेलु उपचारबाट ठिक हुने हो वा जटिल प्रकृतिको हो भन्ने स्पष्ट बताउँछन्। गर्धन वा ढाड दुख्ने र नशाको समस्या पत्ता लगाउन विशेषज्ञले बिरामीको ‘हिस्ट्री’ लिने र स्वास्थ्य परीक्षणहरु गर्नुपर्ने हुन्छ। साथै न्युरोलोजिकल, प्याथोलोजिकल जाँच र आवश्यक परे एक्सरे, बोन डेन्सियोमेट्री, सिटी स्क्यान, एमआरआई आदि जाँच गर्नुपर्ने हुन सक्छ।

नशा च्याप्पिनुको कारण पत्ता लागेपछि बहुचिकित्सा पद्दतिद्वारा उपचार गर्दा प्रभावकारी हुन्छ। बहुचिकित्सा पद्दतिबाट उपचार गर्दा साइडइफेक्ट हुँदैन। यसरी उपचार गर्दा उपलब्ध प्रविधि, उपाय र विधिहरु मध्ये जुन उपयुक्त र व्यावहारिक हुन्छ त्यही विधि अपनाइन्छ। यसरी विभिन्न विधि रोज्दा एउटाले अर्कोलाई काट्ने होइन कि सहयोग गर्ने खालका विधि रोज्ने गरिन्छ। प्राकृतिक चिकित्सा पद्दतिमा बिरामीलाई नकारात्मक असर रहित औषधोपचार गरिन्छ। बहुचिकित्सा पद्दतिमा कारण पत्ता लगाएपछि सबैभन्दा सस्तो मूल्यको गुणस्तरीय उपचार विधि रोज्ने गरिन्छ। अन्य उपचार विधिमा भन्दा यसमा विश्राम तथा व्यायाम चिकित्सालाई प्राथामिकतामा राखिन्छ र उपचार सुरु गरिन्छ। यो उपचारमा शारीरिक अवस्थाको ख्याल राख्नका लागि बिरामीलाई राम्ररी सिकाउनुपर्ने हुन्छ।

बहुचिकित्सा पद्दतिमा आवश्यकता अनुसार फिजियोथेरापी, इलेक्ट्रोथेरापी, मसाज थेरापी, हिटिङ मोडालिटी, म्यानुअल थेरापी, हाइड्रो थेरापी, योग थेरापी, लेजर थेरापी, डिकम्प्रेसन थेरापी, मसल स्टिमुलेसन, अकुपंचर, स्ट्रेस म्यानेजमेन्ट, रिल्याक्सेसन टेक्निक आदि विधिको समन्वयात्मक उपयोगबाट उपचार गर्न सकिन्छ। कहिलेकाहीँ बिरामीको अवस्था हेरेर साइडइफेक्ट नभएका औषधि तथा सप्लिमेन्टहरुको प्रयोग गरिएको पनि पाइन्छ।

प्रायःजसो मेरुदण्ड, गर्धन दुख्ने, नशा च्याप्पिने समस्या बहुचिकित्सा पद्दतिबाट उपचार गर्दा समाधान भएका छन्। तर, सबैखाले नशा च्यापिएका समस्या ठिक हुन्छ भन्ने हुँदैन। केही अवस्थामा शल्यक्रियाको पनि जरुरत पर्न सक्छ। नशा च्यापिएर दिसा–पिसाब नियन्त्रण नहुने, ज्वरो आउने, हात–खुट्टाका मांसपेशी नचल्ने आदि समस्या छन् भने र जन्मजात समस्या भएका, क्यान्सर, क्षयरोग, ट्युमर, मेरुदण्ड भाँचिएका जस्ता समस्यामा शल्यक्रियाका निम्त परामर्श लिनुपर्ने हुन्छ।

बहुचिकित्सा पद्दतिबाट मात्र होइन कुनै पनि विधिबाट ठिक भएपछि (चाहे त्यो शल्यक्रिया नै किन नहोस्) पनि हामीले शारीरिक ‘पोजिसनको ख्याल गर्न सकेनौँ भने नशा च्यापिने समस्या बल्झिन सक्छ। त्यसकारण यस्ता समस्याबाट बच्न दैनिक जीवनमा परिवर्तन ल्याउन जरुरी छ। बहुचिकित्सा पद्दतिबाट सिकेको कुरा जीवनमा अवलम्बन गर्न सके ढाड दुख्ने, गर्धन दुख्ने वा नशा च्यापिने समस्या लिएर फेरि डाक्टरकहाँ जानुपर्ने अवस्था आउँदैन।

रोकथामका उपाय

  • विशेषज्ञलाई जँचाएर आफूले अपनाउनुपर्ने सावधानी तथा व्यायाम राम्ररी सिक्ने,
  • सधैँ पोजिशन र पोस्चरको ख्याल राख्ने,
  • काम गर्दा, उठ्दा, बस्दा वा सामान उचाल्दा मेरुदण्डमा दवाव नपार्ने,
  • नियमित हिँड्ने, व्यायाम तथा योग गर्ने बानी बसाल्ने,
  • चोटपटक तथा दुर्घटनाबाट बच्न सावधानी अपनाउने,
  • गर्धन, मेरुदण्ड बलियो तथा लचिलो बनाउने व्यायामहरु नियमित गर्ने,
  • काम गर्दा प्रत्येक आधा घण्टामा २ मिनेट आराम लिने,
  • नियमित वा हप्ताको एक घण्टा कपडा खोलेर घाममा बस्नाले भिटामिन डी प्राप्त गर्न सकिन्छ, जसले हड्डी बलियो बनाउँछ।
  • प्रसस्त पानी पिउने। क्याल्सियम बढी पाइने खानेकुरा खाने,
  • धूमपान, मद्यपान, चिल्लो, चिनी, जंकफुड आदि नखाने,
  • विशेषज्ञको सल्लाह बमोजिम घरेलु उपचार विधिहरु अपनाउने (जस्तैः मालिस, तातो वा चिसोले सेक्ने तरिका आदि)

Source: http://www.swashthyakhabar.com

Comments

comments

Load More Related Articles
Load More In स्वस्थ्य (Health)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

भेडाको ब्यापार र नेपाल

दक्षिण एसियाको बिचौ भाग ,प्राय पहाडी भुभाग धेरै रहेको देस को नाम हो नेपाल । जहाँ प्रसस्त भ…