खम्बू भाषामा ‘खम्बापू’ भनेको धरती पुत्र हो । धरतीलाई ‘खाम्बेक’ भनिन्छ । यँही खाम्बेकबाट पहिलो पल्ट पैदा भएको मानव नै खम्बापू हुन्छ । उही नै धरती मालिक वा भूमिपुत्र पनि हो । यो पहिलो धरती मानव वा खम्बापू शब्दको रूपान्तरण नै ‘खम्बू’ हो । विद्वान इमानसिं चेम्जोङका अनुसार आजका किरातहरूलाई आर्य भाषामा ‘राय’ भन्नु अघि खाम्बोङवा/खाम्बो वा खम्बू नै भनिन्थ्यो । अझ उनीहरूको पहाडी भूमिमा पछि सम्मै यही नामले पुकारिन्थ्यो । ऐतिहासिक तथ्यहरूमा आर्य—हिन्दू शास्त्रमा ‘किरात’ नामबाट सम्बोधित हुनु अघि मौलिक नाम खम्बू नै सर्वत्र प्रचलित भएको पाइन्छ । पर्सिया(इरान)को निसाबाट बसाइँ सरी उत्तर—भारत हुँदै हिमालय तिर आउँदा किरात उपाधी ग्रहण गरेको तर, निसामा ‘खम्बोज’ नै भनिएको एकथरी विद्वानहरूको मत छ । आज किरात भनिने सम्पूर्ण समूह, लेप्चा, तराईका कोच(कोचे/राजवंशी), मेचे, धिमाल, काठमाण्डौंका नेवारी समुदाय भित्रका ज्यापू, भुटानका सारछोक्पा, बंगालीकोच, तिब्बती खम्पा, आसामका बोडो, नागा, मिजु, मनिपुरी तथा वर्मा, थाइल्याण्ड, इण्डोनेशिया, भियतनामका विविध पहिचानमा रहेका आदिवासीहरू सबै खम्बू वंशी नै हुन् । कतिपयमा मंगोल तथा चिनियाँरक्त ज्यादा होला । यलाखोम(काठमाण्डौं उपत्यका)का ज्यापू ‘किरात शासनकाल’पछि छाडिएका कृषक खम्बू भएको भरपर्दाे प्रमाणहरूले पुष्टि गरिसकेको छ । यो हिमालय क्षेत्रमा खस तथा मंगोलहरूको प्रवेश हुँदा यही नग/नाग/नागाहरूले ढाकिसकेको कुरा इतिहास विदहरूले उल्लेख गरेका छन् । मुन्धुममा ‘नगेह’ शब्दको प्रयोग हुन्छ । यी सबै आधारमा खम्बू शब्द ओझेलमा पर्दै गएर वैदिक आर्यको प्रभावबाट ‘किरात’ शब्दले सम्बोधित हुनु अघि यही नाग(नगेह) पहिचान रहेको बुझिन्छ । वंगालमा कोचहरूको विशाल साम्राज्य थियो भने आसामबाट बर्माहरू पछि यलाखोममा पनि शासन गर्न आइपुगेका थिए । भाष्कार बर्माले यलाखोमको शासनसत्ता आºना आर्यवंशी धर्मपुत्र भूमि बर्मालाई सुम्पेर कामरुप(आसाम) फर्केको उल्लेख छ । तिनै भूमि बर्माको शासनसत्ता स्थापित भएपछि नै यलाखोमको खम्बू शासनको अन्त्य भएको पनि मानिन्छ । भूमि वर्माको वंशज नै आज छिटफुट रूपमा पाइने ‘बर्मा’ थरका जातीय समूह हुन् भन्ने अनुमान छ ।

मुन्धुम अनुसार पहिला खम्बू पुत्र ‘हाङछा’लाई मानिएको छ । उनलाई ‘हेन्कुबुङ’ पनि भनिन्छ । उनी सुम्निमा–पारुहाङ पुत्र हुन् । सुम्निमा–पारुहाङलाई इष्टदेव र मानव सृष्टि कर्ता मानिएको छ तर, ती महामहिमहरू धरतीमा जीव विकास क्रमको विकसित मानव पुर्खा मान्नु पर्दछ  जसले आफ्ना पुत्र हाङछालाई अजेय शक्तिशाली बनाए । उनीहरूले ४ थुँमालुङ/सुप्तुलुङ, वासाङ, आरावा, सोलेवा र धनुष–वाण गरी आठ शक्ति साधन पुत्र हाङछालाई प्रदान गरेको बताइन्छ । हाङछाका कैयौं पुस्ता पछिका पतेसुङ पुत्र खोक्चिलिपा/ हेच्छाकुपा/कोक्तिशाला खम्बू युग पुरुष कहलिएका छन् । उनैले सुम्निमा–पारुहाङद्वारा प्राप्त शक्ति साधनकै आधारमा खम्बु जातिलाई सुसंस्कृत तुल्याए । हेच्छाकुपाले ‘नाँयुमा’ नाम गरेकी स्त्रीसँग विवाह गरी घर निर्माण, स्थायी वसोवास, पशुपालन र खेतीपातीको विकास गरेर समाज विकास क्रममा युगान्तकारी परिवर्तन ल्याए । उनले आºनी पत्नी र दिदीहरू तायामा/तावामा र खियामा/खिवामाको सहयोगद्वारा विधिपूर्वक साकेला/साकेन्वा/साकेवा पूजा र साथमा नृत्य–संगीत कलाको पनि विकास गरे । उनीहरूले ढुँगाको तान थापेर कपडा बुन्ने, अल्लो र कपासको धागो काट्ने शीपबाट घरेलु उद्योग चलाए । हेच्छाकुप्पा/हेछाकुपाको पालामा साकेला पूजा राजकीय ढँगबाट सम्पन्न हुन्थ्यो । उनै हेच्छाकुप्पा/हेछाकुपा नै पहिला खम्बू राजा ‘खम्बुहाङ’ हुन् र उनैले खम्बुवान राज्यको स्थापना गरेको विद्वानहरूको मत छ । यो प्राचीन खम्बुवान, हिमालय आसपास दक्षिण समुन्द्र सम्म फैलिएको मुन्धुममा व्याख्यान पाइन्छ । अहिलेको दृष्टिमा खम्बू र खम्बुवान संकुचित अर्थमा बुझिए पनि त्यो समयमा यो सिंगै भूमि तिब्बतको कारकोरम, हिन्दकुश क्षेत्र, अरेवियन सागर र भारतीय उपमहाद्वीप हुँदै पूर्वी चिनी समुन्द्र सम्म खम्बुवान विस्तारित थियो । यसलाई समग्रमा खम्बुवान नै मान्न सकिने आधार मौलिक रूपले बृहत मानव जाति ‘खम्बोङवा वा खम्बू’ रहेको तथ्य नै हो । यो जातिलाई ‘किरात’ भनिएको वैदिक शास्त्रमा मात्र हो । यसैले यो मुलुक ‘किरात वा किरात राष्ट्र’ भन्नु मौलिक ठहर्दैन । नेपाल शब्द धेरै पछिको हो र ‘नेवाल वा नेवा:वंशी’ खम्बूबाटै ‘नेपाल’ नाम रहन गएको भए पनि यो ज्यादै सीमित थियो । पछि ‘नेपाल मण्डल’ अलिक विशाल देखिए पनि पहिले नेपाल भनेर यलाखोम (उपत्यका)लाई मात्रै भनिन्थ्यो । अझै बूढापाकाहरू त्यसै भन्छन् । बाइसे–चौबिसे राज्य टुक्रिन ुअघि पनि यलाखोम पूर्वलाई नेपाल भनिदैनथ्यो । यसर्थ खम्बुवान नै प्राचीन, मौलिक र अखण्ड खम्बू–राष्ट्र थियो । यो प्राचीन खम्बुवानको शासन काललाई तिथि मितिमा नाप्न नसकिए पनि मानव जातिले घुमन्ते युगबाट कृषि युगमा पाइला हालेको लगभग १५,००० वर्ष अघि नै हो र १०,००० वर्ष अघि नै खम्बू जातिले उन्नतिको शिखर चढिसकेको थियो । यही समय नै खम्बुहाङको शासनकाल र प्राचीन खम्बुवानको स्थापना काल मान्न सकिन्छ । यसलाई खम्बू जातिको कविलायी राज्य व्यवस्था मान्नु पर्छ ।

खम्बू जातिलाई ‘किरातासुर’ भनेर आर्यहरूले सम्बोधन गर्न थालेको अपराजेय ठानेर, रोष र घृणापूर्वक नै हो । ग्रीक इतिहासकार हेरोजेट्स, हेयार्ड तथा भारतीय पण्डित भगवदत्तले किरात असुरले संसार विजय गरेको बताएका छन् । त्यसैले वेविलोन वा वावेलका राजालाई पृथ्वीका प्रथम दर्जाका राजा भन्ने सम्मान भएको बताइन्छ । तिनले वेविलोन राजधानी कायम गरी मेदिया, पर्सिया, मेसोपोटामिया, प्यालिष्टायन, इजिप्ट, भारत तथा पूर्वी देशहरूमा कब्जा जमाएका थिए । यो १७५० ख्रिष्टपूर्वको कुरा हो । यसभन्दा अघि असिरियन साम्राज्यको चर्चा पाइन्छ । त्यसको राजधानी निनवेह थियो, यो शहर टिग्रीस नदीको किनारमा भएको अनुमान छ । हडप्पा र मोहन जोदडोको सभ्यता यसैसँग सम्बन्धित भएको र भारत पनि यसैको अधीनमा रहेको बताइन्छ । यस कालमा खम्बू विश्व विजयी थिए र वेविलोन तथा हरप्पा र मोहन जोदडोको सभ्यताको पतन पछि खम्बू साम्राज्यको पराजयको क्रम शुरु हुन्छ । यसै सभ्यतासँग सम्बन्धित सौभार/सम्बरले आर्यनेता इन्द्रसँग ४० वर्ष युद्ध गरी सिन्धु र गँगा–जमुनाको मैदानबाट पलायन हुँदै काँगडा उपत्यकाबाट खम्बुवानको सत्ता सञ्चालन गरेका थिए ।  पछि अर्का खम्बूवीर जालान्धर पनि सतलज उपत्यकामा जमे । त्यसवेलाका महत्वपूर्ण किल्लाहरू जालान्धारी, कश्मीर, कुमाऊ, गढवाल र नेपाललाई हिमालयको पाँचखण्ड भनेर हिन्दु शास्त्रहरूमा उल्लेख गरिएको छ । त्यस्तै अस्वकुट(कावुल), सुमर(आसाम), मालक वा म्लेक (लोहित), कुल्याक (कुलु उपत्यका),किन्नर वा किरात(गढवाल), मत्स्य वा उत्तर विहार, पाण्ड्रा (बंगाल) र नेपाल संघात्मक प्राचीन खम्बुवानका स्वायत्त अंग भएको मार्केण्डय पुराणमा लेखिएको बताइन्छ ।

हालको मध्य नेपालमा ई.पू.४,००० तिर खम्बु राजा वाणासुरले राज्य गर्दै थिए । कृष्णको निर्देशनमा यादव जातिको बलियो सैन्य वलद्वारा वाणासुरलाई मारी आठपुस्ता गोपाल वंशीहरूले उपत्यकामा राज्य गरे । यिनै गोपालवंशी भुक्तमानलाई पराजित गरी हाङ यलम्बरले यलाखोममा फेरि खम्बू सभ्यताको शुरुवात गरेको देखिन्छ । यसैलाई ‘किरात शासनकाल’ भनी इतिहासमा अंकित गरिएको छ । तर यो खम्बुवान कै सुदृढ र जाजल्यमान राज्यसत्ता र निरन्तरता हो, किरात राष्ट्रको शुरुवात होइन । सम्राट यलम्बरले तामा कोशीको बीचबाट गएर यलाखोम कब्जा गरेका थिए । उनी यलुङ दलका नेता मानिन्छन् । यलुङ पाछा खम्बू जातिको चाम्लिङ समूहमा पर्दछ । उनका वंशजका ३२ पुस्ताले १६ सयवर्ष यलाखोमबाट खम्बुवानको सत्ता सञ्चालन गरेको भनिए पनि एले सम्बतको हिसाब गर्दा ३१७१ वर्ष हुन्छ । यो अत्यन्त सशक्त र रामचन्द्रको अयोध्या र युधिष्ठिरको हस्तिनापुर समान प्रभावशाली मानिन्थ्यो । यसको सीमाना त्रिशुली पूर्व टिष्टासम्म थियो । अझ अर्काे तथ्य अनुसार पश्चिममा गँगा नदी अर्थात कुमाऊ (कर्तृपुर)देखि कामरुप (आसाम) सम्म फैलिएको मानिन्छ । यस वेला खम्बुवान भित्र संघीय व्यवस्था अन्तर्गत थुप्रै स्वायत्त किल्लाहरू थिए जसले बारम्बार विद्रोह गर्ने प्रयत्न गर्दथे । यलाखोम मै पनि थुप्रै रजौटाहरू उपहार (सैनिक सेवासहित) बुझाएर भाइफुट्टा राजाको मान्यता लिन्थे र वेलावेला विद्रोह गर्ने पनि प्रयत्न गर्दथे । चैनपुर क्षेत्रमा पाँच खप्पन (पाँच खम्बुवान) यस्तै एउटा किल्ला थियो । यसै अनुसार सम्बत् १३४१ तिर दुधकोशी–सुनकोशी उत्तर अरुण–तमोर क्षेत्रमा नागा खम्बूहरूले त्यस्तै विद्रोह गर्दा यलाखोम केन्द्रबाट राजा जुलुमहाङले टिष्टापारि लखेटेका थिए । आज आसाम–नागाल्याण्डका नागा त्यही पराजित नागा खम्बूहरू हुन् जसलाई लखेट्न जुलुमहाङले याक्खा, लोहरुङ, यम्फू, आठप्रे आदि खम्बू सेना प्रयोग गरेका थिए । फेदापमा पनि छैटौं शताब्दीमा आठ खम्बू सामन्तहरूको स्वायत्त शासन रहेको देखिन्छ । उनीहरू क्रमश: यकेतेदहाङ, चेस्वीहाङ, लारासोहाङ, पाङवोहाङ, इकाङसोहाङ, खादीहाङ र इमेहाङ थिए । यिनीहरूले ५०० ख्रिष्टपूर्व केन्द्रका सातौं राजा जितेदास्तीको पालामा एक सभागरी केन्द्रबाट विद्रोह गर्ने निधो गरे । भाइफूट्टा राजा(हाङ)कै मान्यता लिई फेदापमा राजधानी बनाएका थिए । त्यहीवेला आसाम तिरबाट शानमकवान वंशी तीन पुरोहित सहित दश धनुर्धारीहरू प्रवेश गरेर खम्बुवानको फेदाप कब्जामा लिई लिम्बुवान राज्यको स्थापना गरेको मानिन्छ । ‘लिम्बू’ भनेको धनुर्धारी हो भनिएको छ जो चिनियाँ भाषासँग सम्बन्धित छ ।

यलाखोमका अन्तिम राजा योग्नेहाङ आºना अनुयायी सहित पूर्वतिर लागेपछि उनका छोराहरू मध्ये कान्छा खाम्सोहाङले फेरि दुष्मन माथि हमला गर्ने प्रस्ताव राख्दा उनका दाजु जेठा लिलिमहाङले अस्वीकार गरी आºना समर्थक लिएर तमोर नदीको वायाँतिर सुसुवादेनमा किल्ला खडा गरेर इ‘.पू.६०० तिर फेदापमा पसेका दश धनुर्धारीसँग मिली लिम्बुवान राज्य सुदृढ गर्न पुगे यहींबाट स्पष्टत: खम्बुवान टुक्रिनपुग्यो । पहिले देखि नै दश लिम्बूको थिति अनुसार आठ खम्बूका वंशज सबैलाई लिम्बूमा गणना गर्ने र समताको व्यवहार गर्ने उल्लेख छ, जसलाई ‘चमफुङ’ रीति भनिन्छ । यसै अनुरूप ती आठ खम्बू मध्ये खादीहाङ र इमेहाङ बाहेक सबै लिम्बू कहलिएको बताइन्छ । खादीहाङ आजका बोडो र इमेहाङ लेप्चाका नेता वा पुर्खा मानिन्छन् । यसरी पहिले नै खम्बुवानको एकभाग टुक्रिएर लिम्बुवान बनेको देखिन्छ । हुन त यस्तै एउटा घटनाबाट मात्र लिम्बू र लिम्बुवानको अस्तित्व कायम रहेको मान्न सकिदैन । यस भूमिमा विभिन्न कालखण्डमा भिन्नभिन्न जातीय समूहको आगमन भइरहेको पाइन्छ । कतिपयले विजयपुरका लिलिमहाङवंशी राजा लिबुकहाङ निरङ्कुश निस्किएकाले उनको एक तन्त्रीय शासन तोडेर उनका भाइ–भारदारहरूले जन ईच्छा अनुसार राजा(राय) चुनी संघात्मक व्यवस्था कायम गरेपछि तिनै लिबुकहाङका वंशज र उनका समर्थक चाहिं ‘लिम्बू’ हुनपुगे भन्ने मत पनि राखेका छन्  र निर्वाचित रायका वंंंश र समर्थक पछिसम्मै ‘राय’ थिए ती केही राई भए भने कतिचाहिं फेरि लिम्बू नै । विजयपुरका बुद्धिकर्ण राय(खेवाङ) त्यस्तै हुन् । आजका खेवाङ लिम्बू पछि सम्मै खम्बू नै थिए । यसरी सबै लिलिमहाङ–लिबुकहाङका वंशज तथा उनका अनुयायीहरू तिनै दश धनुर्धारीका वंशजसँग मिसिएर सिंगो लिम्बू र लिम्बुवान बन्यो होला । कतिपयले पृथ्वीनारायण शाहले कब्जा जमाएपछि मात्र लिम्बू र लिम्बुवान नाम रहन गएको पनि मानेका छन् । यसै कारणले पनि लिम्बू र लिम्बुवानको जरो खोज्न खम्बू र खम्बुवानमा पुग्नैपर्छ, लिम्बू मुन्धुमले पनि यही बताउँछ । जेहोस्, खम्बू र खम्बुवानकै पृष्ठमा लिम्बू र लिम्बुवान पनि बन्न पुगेको चाहिं सबै तथ्यहरूबाट पुष्टि हुन्छ ।

उता भाइ खाम्सोहाङले पनि बनेपाबाट पूर्व दुध कोशीको किनार मुग्ली–देरेपूमा ‘खम्बुक–यक×’ खडागरी बाँकी खम्बू र खम्बुवानको सत्ता सञ्चालन गर्न लागे । लिच्छविहरूले पनि सम्पूर्ण खम्बुवान लिएको नभै तत्कालीन नेपाल(यलाखोम)मात्र कब्जा गरि खम्बुवानलाई चोइटाइ दिएका थिए । लिच्छवि कालमा राजा मावरोङले उपत्यका पूर्व खम्बुवान भन्नुको तात्पर्य पनि यही हो । त्यतिबेला ‘नेपाल’ यलाखोम नाघेर पश्चिमतिर फैलिदै थियो । तर, पछि मल्ल कालमा ती सबै बाइसे–चौबिसे भुरेटाकुरे राज्यहरूमा बाँडिए । कसैले यही खम्बुक–यकको स्थापनालाई नै पहिलो पटक खम्बू र खम्बुवानको अस्तित्व कायम रहेको बताएका छन् तर, यो नितान्त गलत हो । यो खम्बुवानको सानोरूप र निरन्तरता मात्र हो बरु खम्बुवान कै पृष्ठमा लिम्बुवान पनि बनेको हो वा सिंगो खम्बुवान टुक्रिएर प्रचलित खम्बुवान र लिम्बुवानको रूप खडा भएको हो ।

लिच्छवि कालमा तिब्बती सम्राटले उपत्यका पुर्व र भारतको केही भाग पनि आºनो कब्जामा पार्न सफल भएको बताइन्छ । उनकै आदेशमा राजा मावरोङले मावरोङ, लाप्चाङ, लिम्बुवान र खम्बुवान विभक्त गरी संघीय शासन चलाएका थिए भने मध्यकालमा पनि खसान, मगरात, नेपाल, खम्बुवान र लिम्बुवान रहेको कविला महासंघ खडा भएको बताइएको छ । यसरी कुनै न कुनैरूपमा खम्बुवानको अस्तित्व अविछिन्न रहदै आएको छ । मकवानपुरका सेन राजाहरूले चौदण्डी र विजयपुरमा कब्जा जमाइ सक्दा पनि मूल खम्बुवान स्वतन्त्र नै रहेको प्रमाण पाइन्छ । त्यतिवेला खम्बुवानको सत्ता सोह्र थुममा विभक्त थियो । यसर्थ सिंगो खम्बुवानलाई ‘सोह्र खम्बुवान’ पनि भनिन्थ्यो । यी मध्ये चौदण्डी थुम सेनको कब्जामा परेको हुनाले त्यहाँ चौतारिया अगमसिङ खम्बू थिए । यो गोर्खाली राजा पृथ्वीनारायण शाहले अतिक्रमण गर्नु अघिको कुरा हो तर, अन्य थुमहरू धुलिखेल, रावा, दोलखा, हतुवागढी आदि स्वतन्त्र नै भएकाले त्यहाँ क्रमश: महेन्द्रसिङ, चतिम, उलिङहाङ–वलिङहाङ र सुनाहाङ आदि खम्बू राजाहरूले राज्य गरिरहेका थिए । पाँच खप्पन(चैनपुर) पनि चौदण्डी भंैm सेन राज्य विजयपुर कै अधीनमा भएको बुझिन्छ, त्यसैले त्यहाँ चौतारिया काङसोरे सर्बेसर्बा देखिन्छ । विजयपुरका कोचराजा विजय नारायण कै पालामा सम्पूर्ण लिम्बुवानले विजयपुरलाई केन्द्र मानी शासन सञ्चालन गरि आएको हुनाले विजयपुरमा सेनहरूको प्रभुत्व कायम भएपछि स्वत: सम्पूर्ण लिम्बुवान सेनको अधीनमा परेको आधारमा खम्बुवानको पनि पाँच खप्पन र चौदण्डी थुम सेनको कब्जामा परेको हुँदा सम्पूर्ण खम्बुवान नै सेनको अधिनष्थ रहेको गलत इतिहास लेखिन पुगेको छ तर, यथार्थता त्यस्तो थिएन । पहाडी लिम्बुवानका थुम प्रमुखहरू विजयपुरमा चौतारिया बन्ने र पछि सेनको अधीनमा आइसके पछि पनि चर्चित लिम्बू नेताहरू मकवानपुरमा मन्त्री बने जस्तो खम्बुवानको चौदण्डी र पाँच खम्पन बाहेकका थुमहरूमा त्यस्तो कुनै व्यवस्था नभएकाले पनि मूल खम्बुवान चाहिं पूर्ण स्वतन्त्र नै रहेको पुष्टि हुन्छ । त्यस्तै पाँच खम्पनका काङसोरे र चौदण्डी थुमका अगम सिङलाई मात्र ‘चौतारिया’ भनिएको यस बाहेक खम्बुवानका सबै थुम प्रमुखहरूलाई ‘राजा’ भनी उल्लेख भएबाट पनि सोही तथ्यको पुष्ट्याइँ मिल्दछ । मकवानपुरे सेनहरूले खम्बुवानको चौदण्डीमा बसेर दोलखाका नाम्दुहाङ माथि प्रभावित गरेको र पहिले नै ताक्तुङ खेवाङले छथरबाट खम्बुवानको दक्षिणी भेगको चाम्लिङ गढ खोटाङ समेतमा अधीन गरेको भन्ने पाइएकाले पनि खम्बुवानको पराधीनता अघिबाटै मान्न थालिएका हो । तर यी घट्नाहरू सम्पूर्ण खम्बुवानको पराधीनताको सवाल नभएर केही संकुचनका कुराहरू मात्र हुन् । यसैले खम्बुवानको सम्पूर्ण स्वतन्त्रताको समाप्ति त गोर्खाली राजा पृथ्वीनारायण शाहको अतिक्रमणबाट मात्र भएको हो । त्यहीवेला चौदण्डीबाट राजा कर्ण सेन र अगमसिङले पावाथुम(हतुवागढीको नजिकै युद्धकालमा खडा गरिएको अर्काे किल्ला)का राजा सुनाहाङ र राजकुमार अटलसिङसँग गोर्खाली विरुद्ध लड्न सहायता माग्न जाँदा त्यहाँ सेनहरूको सामान्य चर्चा चलेको बुझिन्छ । बाँकी थुमहरूमा उनीहरूका बारेमा कसैलाई थाहै थिएन ।

पृथ्वीनारायण शाहको गोर्खाली सेनाले अतिक्रमण गर्दा सम्म पनि खम्बुवान निकै विशाल नै थियो । त्यतिखेर भनिने गरेको माझ किरात मात्र खम्बुवान हैन । पूर्वमा पृथ्वीनारायण शाहले कब्जा गर्दा ‘ठूलोखोला(अरुण) साँध लाग्यो’ भनिदिएको हुनाले मात्र खम्बुवान र लिम्बुवानको सीमाना अरुण नदी हो भन्ने धारणा बनेको हो । आºनो राज्यको रक्षार्थ वीर खम्बूहरूले साम्झौताहीन संघर्ष गरेका थिए । धुलिखेलका राजा महेन्द्रसिङ र उनका भाइ नामसिङसँग ६ महिना युद्ध गर्नुपरेको थियो, गोर्खालीले । त्यस्तै तामाकोशी क्षेत्रबाट उलिङहाङ र वलिङहाङले पाँच वर्षसम्म मातृभूमिको रक्षार्थ युद्ध लडेर पूर्वतिर बढ्न गोर्खालीको लागि फलामे बार सावित गरिदिएका थिए । गोर्खाली सेनाले नालदुम गढी(नगरकोट) पटकपटक कब्जा पछि पनि गुमाउनु परेको थियो । रावा थुमका चतिम र पावा थुमका राजा सुनाहाङ र राज कुमार अटलसिङंको नेतृत्वमा खम्बूहरूले संयुक्त प्रतिरोध युद्ध गरेका थिए तर, युद्ध मैदानमा चतिम र सुनाहाङले सहादत प्राप्त गरे भने राज कुमार अटलसिङ बाँच्न सफल भएर छापामार युद्ध गर्न थाले । उनकै नेतृत्वमा १८६४ मा अर्काे प्रतिरोध युद्ध भएको थियो । ‘अवज्ञानपर्व’ नामले चर्चित सो विद्रोहमा  कैयौं खम्बूहरू सहित अटलसिं खम्बू पनि मारिए । लगभग ३३ वर्ष छापामार युद्ध लडेर उनी दोश्रो शम्बर कहलिए ।

गोर्खालीसँगको युद्धमा खम्बुवानमा खम्बू सेना मात्र हैन बूढाबूढी र केटाकेटी समेत सखाप भए । बूढाबूढीलाई पछाडि ढाडमा कुटेर मार्ने र केटाकेटालाई हावामा ºयाँकेर तरवारले मूला काटेभैंm काट्ने जस्ता क्रूरता उनीहरूका लागि सामान्य थिए । ‘मूला काटेभैंm काटी खुकुरी घुमे फनन’ भन्ने गीत कुनै नालापानीको कथा हैन, यहीँको हो । जवान र पक्राउ परेका सेनालाई घुँडाको पाङ्ग्रा फुकालेर भारी बोकाउने जस्ता पशुवत र ह्दय विदारक दृष्य देखाउनु गोर्खालीहरूको प्रतिशोधको पराकाष्ठ थियो । अन्य प्रतिरोधमा उत्रनेहरूलाई दिइने सजाय ‘गोर्खेलौरी’ शब्द अझै प्रचलित छ । कति भाग्ने क्रममा अरुण, दुधकोशी तथा तमोर नदीहरूमा बगेर मरे त्यसको त कुनै लेखाजोखा नै रहेन । घट्नाको सामान्य हिसाब गर्दा पनि एकहजार सेना, चौधसय आइमाई केटाकेटी र चारसय जति भाग्नेक्रममा नदीहरूमा बगेर मरेको अनुमान लाग्दछ । लगभग बाह्रवर्ष लामो प्रतिरोध युद्धको यो अन्तिम समयको हिसाबमात्र हो । विदेश पलायन भएका खम्बूहरूले पछि सिक्किम सैन्यसँग मिलेर पनि असफल युद्ध गरेका थिए । यसरी १८६४ को अटलसिङको प्रतिरोध सम्म आइपुग्दा कति खम्बूहरूले ज्यान गुमाए भन्न सकिने स्थिति छैन । सिक्किम, दार्जीलिङ, भूटान तथा आसामतिर त्यही वेला पलायन भएका खम्बूहरू असंख्य रहेका छन् । आज खम्बुवानका खम्बूहरू त त्यो वेला कुना कन्दरामा लुकिछिपी बाँचेका र भाग्न पनि नसक्ने केही नबुझेका लाटाबुँगा, कानाखोरण्डा जसले केही विगार्न सक्तैन भनेर गोर्खालीले छाडेकाहरूका वंशज नै मात्र हुन् भन्ने बुझ्न सकिन्छ । पछि भीमसेन थापाको पालासम्मै  ‘माझकिरात कुम्ल्याहा(कुलपिराहा अपराधी)’ भनी पक्राउपुर्जी पठाएको उदाहरण पाइन्छ । आजसम्म पनि दलगत राजनीतिमा एकै जातिवंश, दाजुभाइ, बाबु छोरालाई फुटाएर लडाउने र आतंकको नाउमा भयदोहन गरी धपाउने/मार्नेक्रम जारी नै छ ।

खम्बुवानका खम्बूहरूले मारिनु र मातृभूमि छाडेर विदेश भाग्नुपरे पनि शत्रुसँग कहिल्यै आत्म समर्पण गरेनन् । यही कारणले त्यति लामो खम्बुवान युद्धमा भएको क्षतिपूर्ति यहाँबाट गोर्खाली सेनालाई प्राप्त हुनसकेन । यस बाहेक पटक पटक भइरहने खम्बू विद्रोहहरूबाट आहात भएका गोर्खालीले लिम्बुवान युद्धमा आºनो रणनीति नै बदल्नु परेको थियो । यसैले लिम्बुवानमा मकवानपुरे सेनहरूले जस्तै स्वायत्त अधिकार प्रशासनिक बाहेक) थमाउन वाध्य भएको बुझिन्छ । यस्तै गरेर राजा रणबहादुर शाहको पालामा आएर लिम्बूरूलाई किपट अन्तरगत सुब्बा–सुब्बाङ्गी जस्तै खम्बुवानमा खम्बूहरूलाई पनि ‘राई पगरी’ बाँड्दै हिडेको पाइन्छ । त्यतिमात्र हैन अमाली, तालुकदार, कर्ता, कारवारी, गौरुङ्ग, गाउँबूढा, माथा, द्वारे, दीवान, माझिया, मुखिया जस्ता विभिन्न तहमा खम्बूहरूलाई  विभाजित गरी ‘फुटाऊ र शासन गर’को  नीति अपनाए । आज त्यही राई, देवान, मझिया, माझी, जिमी तथा मुखिया जात/थरकै रूपमा प्रयोग हुँदैआएका

छन् । अझ ‘राई’ सिंगो जातिको पहिचान बन्न पुगेको छ र यही सानो समूहलाई मात्र आज ‘खम्बू’ भन्ने/बुझ्ने गरिन्छ, यो नितान्त गलत सवाल हो । वंशीय आधारमा खम्बू जातिले विशाल क्षेत्र ओगट्ने भएपनि आज एउटा ऐतिहासिक काल खण्डमा ‘लिम्बू’ जाति र लिम्बुवानको अस्तित्व कायम भइसकेको हुँदा त्यसबाहेक खासगरी किरात भनिने समुदाय भित्र पर्ने याक्खा, सुनुवार, दनुवार, जिरेल, सुरेल, हायू, थामी र राई सबेै खम्बू नै हुन्, उनीहरूको भूमि नै खम्बुवान हो । अन्य राईहरूको सामे/सामेत/सामेक र याक्खाको साम्मेलिङ पद्धतिको समानताले अझ यही कुराको पुष्टि गर्दछ । कसै कसैले याक्खा, आठपरिया, लोहरुङ, यम्फूलाई खम्बू भन्दा अलग बताउने गरेका छन् तर, उनीहरू पनि  खम्बुवान राष्ट्रका हकदार हुन् । यसैमा सबैको राजनीतिक, सामाजिक र सांस्कृतिक हित र सुरक्षा सम्भव छ । जातिहरूको आत्मनिर्णयको अधिकारको सिद्धान्त अनुरूप स्वतन्त्र जातीय राष्ट्र खम्बुवान निर्माण हुनुपर्छ त्यस पछि फेरि पनि जातिहरूको आत्मनिर्णयको अधिकार सुरक्षित गर्दै सम्झौता मुताविक संघात्मक नेपाल भित्र दोहोरो राष्ट्रियता र द्वैध सत्ता सहित समाहित हुन सकिन्छ । यही नै सिंगो ‘नेपाल राष्ट्र निर्माण’ र वास्तविक एकीकरण पनि हुनेछ । खम्बू जातिका लागि ऐतिहासिक जातीय राष्ट्रको पृष्ठभूमि र हाल माथिका सबै समूहको जातीय बसोबासको आधारमा नयाँ खम्बुवानको राज्य संरचना अत्यावश्यक छ । जसको लागि ऐतिहासिक पृष्ठभूमिको आधारमा सीमा निर्धारण गरिनु पर्दछ । यस भित्र सोलुखुम्बू र संखुवासभामा शेर्पा र सभा खोला तथा पिलुवा खोला बीच याक्खा स्वशासित इलाका तथा खस (बाहुनक्षेत्री), नेवार, तामाङ, मगर, गुरुङ, भोटे आदि जातीय इकाईहरू बन्न सक्ने छन् । खम्बुवानमा इलाका स्तरका विभिन्न थुमहरू पनि बन्न सक्नेछन् । त्यस्तै खम्बू जातिकै सुनुवार, माझी, दनुवार, लोहरुङ, यम्फू, आठपरिया र अन्य जातिका दलितजस्ता अल्प संख्यकहरूका लागि विशेष व्यवस्था गर्नुपर्दछ । खम्बू जातिका लागि खम्बुवान बाहेक सबै कुरा भ्रम हो । हामीले धर्म शास्त्रमा किरातेश्वर महादेव र कथित नेपालको इतिहासमा यलम्बर, जिते दास्ती र गस्ती आदिको दुईपाने इतिहासबाट अघिबढेर महान मुन्धुममा आधारित सुम्निमा–पारुहाङ देखिको तथ्यलाई आधिकारिक ढँगले वास्तविक इतिहासमा अंकित गर्नुछ, जुन ‘खम्बुवान’ राज्यको स्थापना विना सम्भव नै छैन । प्राचीन खम्बुवान राज्यका प्रवर्तक महान खम्बुहाङ, किरातकाल भनी इतिहासमा चर्चित सुदृढ, संगठित र सु–सम्पन्न खम्बुवानका पालक तथा निर्माता सम्राट यलम्बर, सीमित भएपनि त्यो भीषण पराजय र रक्षात्मक चरणमा खम्बुवानको निरन्तरतालाई कायम गर्न प्रयत्नरत खम्बुक–यकका निर्माता खाम्सोहाङको विरासत नै अबको खम्बुवान हो । खम्बू जातिको आत्म स्वाभिमान र जहाँ सुकै छरिएर रहेका सम्पूर्ण खम्बू जातिको केन्द्रीय न्यूक्लस ‘खम्बुवान’ राष्ट्र राज्य हो । यसैको प्राप्तिबाट मात्र वीर योद्धा र खम्बू जातिको प्रथम शहीद तथा राष्ट्रिय विभूति अटलसिङको रगतको मूल्य चुक्ता हुने अनि दूरदर्शी, चुस्त निर्णय क्षमतायुक्त राजनेता र स्वतन्त्रता संग्रामका नायक ले. राम प्रसादको सपना पूरा हुने अनि आधुनिक खम्बुवानका श्रष्टा तथा खम्बुवान राष्ट्रिय मोर्चाका संस्थापक नेता गोपाल खम्बूको पनि सम्मान र उच्च मूल्याङ्कन हुनेछ । अनि यतिले मात्र खम्बूजाति र खम्बुवानको मौलिकता पनि जीवित रहन सक्ने छ । अहिले पुन: चर्चा गरिएको ‘किरात’ राज्य वा स्वायत्तताबाट यो सम्भव छैन । किरात र किरातीको सवाल भावना र सामान्य पहिचान मात्र हो । यसबाट राष्ट्र निर्माण हुनसक्तैन ।